सत्यको झलक तीव्र पे्रममा, मृत्यमा एवं तीव्र शोकमा हुन्छ । ज्ञान छ भने शोकपथ बन्छ । हार्दिक मित्र छ भने प्रेमपथ बन्छ । सजगता छ भने मृत्युपथ बन्छ । सबैको प्रारम्भमा साँचो शिष्यभाव एवं गुरुको मार्गदर्शन जरुरी छ । श्रद्धा गुरु हो । सिक्ने आकाङ्क्षा शिष्य हो । शून्यमा बस्नु प्राप्ति हो ।
ज्ञान भनेको घमण्ड रहित हुनु हो । चित्तलाई एक लक्ष्यमा राख्नु भक्ति हो । होड नगर्नु, धेरै कुरा नचिताउनु वैराग्य हो । अनावश्यक चिन्ता नगर्नु, कुरा नगर्नु सन्तोष हो । सन्तोषका अन्तर्गत सबै प्रकारका संयम छन् । वैराग्यका अन्तर्गत सबै अङ्गका चिन्तन छन् । भक्तिका अन्तर्गत सबै सद्गुणहरू छन् । ज्ञानका अन्तर्गत सबै विश्राम, निर्वाण एवं शान्तिका पदहरू छन् । इच्छा कसरी उठ्छ, त्यो क्षणलाई हेर्नु सजगता हो । बाहिरका विषयहरू इन्द्रियमा आउँदा स्वीकार एवं अस्वीकारको जो इच्छा हुन्छ । अनुकूल एवं प्रतिकूलको जो प्रतिक्रिया हुन्छ, त्यो शक्ति अथवा एनर्जी के हो ? एनर्जीलाई शुद्ध रूपमा देख्नु ‘अवलोकन’ हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट