पोखरा, २९ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार मन्त्री खड्कालाई बर्खास्त गर्नुभएको हो ।
खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त हुनुभएको थियो । खड्का पाँच वर्ष अघि काँग्रेसको तर्फबाट समानुपातिकमा गण्डकी प्रदेश सभा सदस्य नियुक्त हुनुभएको सथियो । उम्मेदवार बन्न नपाएपछि निर्वाचनमा पार्टीगत रुपमा निष्क्रिय हुँदै आएको आरोप पनि खड्का माथि छ ।
खड्कालाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफैँसँग राख्नुभएको छ । यसअघि पाँच दलीय गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।













