नुवाकोट, नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणका क्रममा नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक नियोग प्रमुख मेगन बोल्डिन र अमेरिकी कंग्रेसका कर्मचारी सम्मिलित प्रतिनिधिमण्डलले आज प्रभावित समुदायलाई उपलब्ध गराइएको राहत तथा सहयोगको अवलोकन गरेको छ।

प्रतिनिधिमण्डलले क्याथोलिक रिलिफ सर्भिसेज (CRS) र कारितास नेपालद्वारा सञ्चालित सामुदायिक केन्द्रहरू तथा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) को समन्वय केन्द्रको भ्रमण गरी अमेरिकी सहयोगमार्फत प्रभावित नागरिकलाई उपलब्ध गराइएको खाद्यान्न, आश्रय तथा मनोसामाजिक सहयोगबारे जानकारी लिएको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले जिल्ला प्रहरी नेतृत्वसँग भेटघाट गर्दै बेपत्ता अमेरिकी नागरिकहरूको खोजी तथा पहिचानका लागि नेपाली प्रहरीले गरेको प्रयासप्रति धन्यवाद व्यक्त गरेको थियो। साथै, नुवाकोट र रसुवा जिल्लाबीचको सम्पर्क पुनःस्थापित गर्न सहयोग पुर्याइरहेको हालै जडान गरिएको अमेरिकी प्रविधिमा निर्मित पुलको समेत अवलोकन गरिएको थियो।

अमेरिकाले बाढीपछिको मानवीय सहायता तथा विपद् प्रतिकार्यका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रतिबद्धता जनाएको छ। उक्त सहयोगमा आपत्कालीन राहत सामग्री, विपद् प्रतिकार्य उपकरण तथा बेपत्ता अमेरिकी नागरिकलगायत अन्य पीडितहरूको पहिचानमा सहयोग पुर्याउने फरेन्सिक विशेषज्ञता समावेश छन्।

विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय सहयोग र नेपालका सम्बन्धित निकायबीचको समन्वय महत्त्वपूर्ण रहेको यस भ्रमणले देखाएको छ।












