पछिल्लो समय सहरी क्षेत्रमा बच्चाको मोटोपना बढ्दै गइरहेको छ । मोटोपना एक गम्भिर समस्या हो । केही वंशाणुगत रोग वा हर्मोनको गडबडीका कारण पनि बच्चामा मोटोपना हुन सक्छ । बाल्यावस्थामा हुने मोटोपनाले युवा उमेरमै उच्च रक्तचाप, मुटुरोग, मधुमेह, पित्तथैलीमा पत्थरी, कलेजो सम्बन्धी रोग, श्वास फेर्न गाह्रो हुने र मानसिक समस्या समेत निम्त्याउन सक्दछ । त्यसैले मोटो बच्चालाई समयमै उपचार गर्न चिकित्सक कहाँ लैजानु आवश्यक छ ।
अत्यधिक कम्प्युटर चलाउने र टिभी हेर्ने, शारीरिक व्यायाम नगर्ने र अन्य बिलासी जीवन जीउने प्रवृत्तिले पनि शहरी क्षेत्रका बच्चाहरूमा मोटोपनाको समस्या बढ्दै गइरहेको पाइन्छ । अधिक मात्रामा फास्ट फुड खाने, घरमै पनि अत्यधिक मात्रामा खानेकुरा उपभोग गर्ने, धेरै क्यालोरी भएका, बोसोयुक्त, फाइबर कम भएका खाना र साथै गुलियो पेयपदार्थ धेरै सेवन गर्ने जस्ता बदलिँदो सामाजिक आनीबानीहरूले मोटोपना निम्त्याउँछ ।
मोटोपनको रोकथाम र व्यवस्थापन गर्ने केही तरिकाहरु—
– बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन थाल्ने र ६ महिनासम्म स्तनपान मात्र गराउने ।
– गुलियो पेयपदार्थ कम सेवन गर्ने ।
– सुत्ने कोठा वा स्थानबाट टिभी र कम्प्युटर हटाउने ।
– घरबाहिर फास्ट फुडहरूमा खाने बानी नियन्त्रण गर्ने र घरमा पकाएका र फाइबरयुक्त खानेकुराहरु सागसब्जी, फलफूलहरु खुवाउने ।
– नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदहरूमा भाग लिन बढावा दिने ।
– बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न पूरै परिवारकै जीवनशैलीमा नै परिवर्तन गर्न आवश्यक हुन्छ । बच्चाहरूको खाने बानीमा परिवर्तन र शारीरिक रूपमा सक्रिय हुने जस्ता स्वस्थ बानी र व्यवहार अपनाएमा शरीरको तौल सामान्य गर्न र स्वस्थ हुन सकिन्छ ।













