फ्लोरेन्स नाइटिङ्गेल इंग्ल्याण्डमा आधुनिक नर्सिङ सिस्टमको प्रवर्तक थिइन् । नर्सिङलाई इंग्ल्याण्डमा मात्र नभई सारा दुनियामा नै सम्मानजनक दर्जा दिलाइन । १९०७ मा उनलाई अर्डर अफ द मेरिट बाट सम्मानित गरियो र उनी यो सम्मान पाउने पहिलो महिला थिइन् ।
फ्लोरेन्स नाइटिंगेल अमीर घरमा जन्मिएकी थिइन्, तर उनी सुखभोगी धनाड्यहरुको जस्तै जीवन जीउन चाहन्नथिइन् । उनले नर्स बन्ने फैसला गरिन्, किनकि उनको विचारमा यसैबाट महिलाहरुले मानव जातिको सबैभन्दा ठूलो सेवा गर्न सक्थे ।
उनको सम्पन्न तथा प्रतिष्ठित मातापितालाई जब यो कुरा थाहा भयो कि उहाँहरुको छोरी नर्स बन्न चाहन्छन्, तब उहाँहरुलाई यो कुराले पिरोल्यो । उहाँहरुले उनलाई सम्झाउने निकै धेरै प्रयास गर्नुभयो कि नर्सको पेसा सम्मानजक छैन, तर फ्लोरेन्स आफ्नो फैसलामा दृढ रहिन् । १८५३ मा फ्लोरेन्स एउटा अस्पतालमा नर्स बनिन् र उनले यति सफलतासँग काम गरिन् कि त्यस अस्पतालको स्थिति सुध्रियो ।
जब टाइम्स पत्रिकाका विशेष संवाददाताले यस कुराको आलोचना गरे कि आल्माको युद्धमा घायल भएकाहरुको लागि न त पर्याप्त डाक्टर नै छन् न त नर्सहरु नै, तब फ्लोरेन्स नाइटिंगेललाई त्यहाँ पठाइयो । मानिसहरु यो खबर सुनेर औँला टोके कि एउटा धनी, युवा र सुन्दर अभिजात्य महिला विलासिता तथा आरामको जीवन छोडेर खतराबिच गइरहेकी छन् । त्यहाँ उनी बीस घण्टासम्म काम गर्थिन्, जसमा नर्सिङको बाहेक, भान्से, हाउसकिपर, सफाई, कपडा धुनु, स्टोरकिपीङ इत्यादि गर्थिन् । राति सुत्नुभन्दा पहिलो ल्याम्प हातमा लिएर सम्पूर्ण वार्डमा घुम्थिन्, यही बानीको कारणले उनको नाम द लेडी विथ द ल्याम्प राखियो ।
साभारः ‘सफलता’ पुस्तकबाट













