काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउन तथा नदी प्रणालीमा आधारित विकास र बस्ती विस्तारको अवधारणामा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुशील खड्काले जलवायु परिवर्तनका कारण नदी प्रणालीमा आधारित बस्ती तथा संरचना उच्च जोखिममा परेको बताए । बदलिँदो प्राकृतिक अवस्थालाई ध्यानमा राख्दै विकासका विद्यमान मोडल पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद स्मृति सेन्चुरीले दोलखास्थित उच्च जोखिममा रहेको छो रोल्पा हिमतालको २४ घण्टा निगरानी गर्न तथा सम्भावित जोखिमबाट तटीय क्षेत्रका नागरिकको जीउधन जोगाउन स्वचालित साइरन प्रणाली जडान गर्न सरकारसँग माग गरिन् ।
भोटेकोशी बाढीबाट सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्नेमा सांसद श्रीराम न्यौपाने र सुशान्त वैदिकले जोड दिए ।
बैठकमा जेनजी आन्दोलनसँग सम्बन्धित विषयसमेत सांसदहरूले उठाएका थिए । सांसद सुष्मा स्वर्णकारले भ्रष्टाचारमुक्त, भेदभावमुक्त र सुशासनयुक्त समाज निर्माण गर्ने जेनजी युवाको चाहना पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सोम शर्माले जेनजी जनविद्रोहका क्रममा युवामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन माग गरे । हरिनादेवी कामीले जेनजी सहिद परिवारमाथि व्यङ्ग्य गर्ने अधिकार कसैलाई नभएको बताइन् । हरिप्रसाद भुसालले अर्घाखाँचीका १० भन्दा बढी युवा अझै जिल्ला अदालतमा तारेख धाइरहेको उल्लेख गर्दै उनीहरूमाथि लगाइएका झुटा मुद्दा तत्काल फिर्ता लिन माग गरे ।
सांसद सुलभ खरेलले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको रणनीतिक भण्डारणका लागि स्पष्ट कानुनी व्यवस्था गर्न माग गरे । हरिमोहन भण्डारी, सन्तोष सुब्बा र सुशीला ढकाल आचार्यले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद ज्ञानु पौड्यालले रूपन्देहीको पक्लीवहास्थित कृषि क्याम्पसको जीर्ण भवन पुनर्निर्माण गरी आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याउन माग गरिन् । लीमा अधिकारी आचार्यले चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिन् ।
सांसद विपिनकुमार आचार्यले भदौ २४ को विध्वंसपछि निजी क्षेत्रका संरचना पुनःउठ्न थाले पनि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र गृह मन्त्रालय अझै बेवारिसे अवस्थामा रहेको तथा नयाँ संसद् भवन निर्माणको गति सुस्त रहेको भन्दै प्रश्न उठाए । उनले रसुवा र नुवाकोटमा विपद्पछिको पुनर्निर्माण सही दिशामा अघि बढ्छ भन्ने विश्वास दिलाउन सरकारले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यवहारिक कमजोरी पहिचान गरी कामको गति बढाउनुपर्ने बताए ।
सांसद समीक्षा बाँस्कोटाले जेनजी आन्दोलनका सहिद तथा घाइतेको योगदानलाई अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताउँदै जेनजी पुस्ताको न्यायका लागि आवश्यक बाधा फुकाउन सिंगो सदन तयार रहेको धारणा राखिन् ।
बैठकमा सांसदहरू ललिताकुमारी, लक्ष्मी पौडेल, विक्रम थापा, विष्णुमाया विक, शम्भुप्रसाद ढकाल, साहजान खातुन, शोभा खनाल, श्रद्धा कुँवर क्षेत्री, सरस्वती लामा, सरिता महतो, सागर भुसाल, साजिदा खातुन सिद्धिकी र सिर्जना श्रेष्ठलगायतले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सरकारसँग माग गरे।













