काठमाडौं: तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीयस्तरमै व्यावसायिक फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ। भिमाद नगरपालिका-५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन्।
स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले किसानका बारी सजाएका छन्। भिमाद-६ को बाग्टार, सिमबोट जलौदी र ऋषिङ पाटनका किसानले दुई-दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन्। यस कार्यमा रेनु थापा, जानुका थापा, बद्रिनाथ गैह्रे र बालकृष्ण गैह्रे सक्रिय छन्।
स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ। नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन्। स्थानीय उत्पादनको प्रयोग बढाउन सके आयातमाथिको निर्भरता घट्नुका साथै किसानको आम्दानी बढ्ने उनको अपेक्षा छ।
यद्यपि, उत्पादित फूलको व्यवस्थापन भने किसानका लागि चुनौतीपूर्ण बनेको छ। किसान बालकृष्ण गैह्रेका अनुसार फूल टिप्ने समय नजिकिँदै गर्दा त्यसलाई ताजा राख्ने चिस्यानयुक्त भण्डारण सुविधाको अभाव छ। भण्डारणको उचित व्यवस्था नहुँदा समयमै बिक्री नभए लगानी र मिहिनेत खेर जाने जोखिम रहेको किसान बद्रिनाथ गैह्रेले बताए। उनले भने, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ।”




















