काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढीबाट उत्पन्न विपद्को समयमा दलीय स्वार्थभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न सरकारसँग आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै ओलीले संकटको घडीमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नगरी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ दिनुपर्ने बताइन् ।
उनले अस्थायी आश्रयस्थलमा बसिरहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएको भन्दै तत्काल विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायत दीर्घरोगका बिरामीका लागि नियमित औषधि तथा आवश्यक स्वास्थ्य टोली परिचालन गर्न उनले स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिन् ।
विपद्का बेला महिला, गर्भवती, सुत्केरी तथा किशोरीले सरसफाइ, गोपनीयता र यौन तथा लैङ्गिक हिंसालगायतका जोखिम सामना गर्नुपर्ने भएकाले राहत वितरणमा प्रजनन स्वास्थ्य र सरसफाइ सामग्रीलाई प्राथमिकता दिनुपर्ने ओलीको भनाइ थियो ।
नेपालले सामना गरिरहेको वातावरणीय संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा स्पष्ट रणनीति, तथ्य र यथार्थपरक आँकडासहित अघि बढ्नुपर्नेमा पनि उनले जोड दिइन् । संयुक्त राष्ट्रसंघको आगामी महासभामा नेपालको सहभागितालाई लक्षित गर्दै कूटनीति भावनामा मात्र नभई अन्तर्राष्ट्रिय कानुन, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उनले बताइन् ।
जलवायु परिवर्तनको असरलाई देखाएर आन्तरिक शासकीय तथा प्रशासनिक कमजोरी ढाकछोप गर्न नमिल्ने ओलीको तर्क थियो । प्राकृतिक बहाव मिचेर निर्माण गरिएका संरचना, अव्यवस्थित सहरीकरण र वातावरणीय मापदण्डको उल्लङ्घनले समेत विपद्को जोखिम बढाएको उनले बताइन् ।
जलवायु न्यायको विषय उठाउँदा बाह्य निकायलाई मात्र दोषी देखाएर नपुग्ने भन्दै ओलीले विगतका विपद्बाट पाठ नसिकेको, पूर्वसूचना प्रणाली तथा समन्वयमा देखिएका कमजोरीको जवाफदेहिता देशभित्रैबाट सुरु हुनुपर्ने धारणा राखिन्।













