काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमा मागेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो भनाइलाई विभिन्न माध्यमबाट फरक ढंगले व्याख्या गरिएको बताइन्। उनले आफूले तथ्यगत विषय मात्र प्रस्तुत गरेको दाबी गर्दै आगामी दिनमा यस्ता विषयमा थप सतर्क रहने प्रतिबद्धता जनाइन्।
‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु,’ उनले भनिन्। भदौ २३ गते आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माण प्रक्रियामा राष्ट्रिय सभाबाट असहयोग भएको आशय व्यक्त गरेको भन्दै त्यसको आलोचना भएको थियो। त्यसबारे स्पष्टीकरण दिँदै उनले आफूले राष्ट्रिय सभाले ‘असहयोग गर्यो’ भन्ने शब्द प्रयोग नगरेको दाबी गरिन्। उनका अनुसार जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण तथा संविधान संशोधनसम्बन्धी विषयमा आफूले तथ्यभन्दा बाहिर गएर कुनै धारणा राखेकी छैनन्।
‘मैले राष्ट्रिय सभाले असहयोग गर्यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन। माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन्। मन्त्री गौतमले कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभा र राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। प्रतिनिधि सभाले दुई तिहाइ बहुमतबाट कुनै विधेयक पारित गरे पनि कानुन निर्माणका लागि राष्ट्रिय सभासहित सबै संवैधानिक प्रक्रियाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै उनले आफूले नबोलेका विषयको जिम्मेवारी भने लिन नसक्ने स्पष्ट पारिन्। उनले आगामी दिनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच सुमधुर समन्वय कायम गर्दै कानुन निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता पनि जनाइन्। ‘मैले बोलेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ मन्त्री गौतमले भनिन्। पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भइरहेको गुनासो बढेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।













