काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा टेलिफोन संवाद भएको छ।
२२ भदौमा भएको वार्ताका क्रममा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका छन्। रुबियोले विपद्को सामना गरिरहेको नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
वार्तामा रास्वपा सभापति लामिछानेले बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यबारे अमेरिकी विदेशमन्त्रीलाई जानकारी गराएका थिए। सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी प्रभावितको उद्धार तथा राहतमा काम गरिरहेको उनले बताएका थिए। लामिछानेले नेपालमा रहेका नेपाली नागरिकसँगै विदेशी नागरिकको सुरक्षाप्रति समेत सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।
विपद्को कठिन परिस्थितिमा अमेरिकाले देखाएको चासो र सहयोगका लागि लामिछानेले अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए। वार्ताका क्रममा रुबियोले आगामी दिनमा पनि नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका हुन्।













