काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तयार पारेको प्रस्तावित नयाँ विधानमा परिवारवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्ने व्यवस्था समावेश गरिएको छ।
सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारी केन्द्रीय सदस्यहरूलाई वितरण गरेको प्रस्तावित विधानमा एकै परिवारका एकभन्दा बढी सदस्य पार्टीका समान तहका समिति, विभाग, आयोग वा अन्य संरचनामा नियुक्ति, मनोनयन वा निर्वाचनमार्फत सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
त्यस्तै, पार्टीका केन्द्रीय तथा प्रदेश तहका सदस्यहरूको परिवारका सदस्यहरूलाई पार्टीका कुनै पनि निकायमा नियुक्ति वा मनोनयनका लागि सिफारिस गर्न नपाइने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।
विधानमा ‘परिवार’ को परिभाषा स्पष्ट रूपमा तोकिएको छ। जसअनुसार पति–पत्नी, आमा–बुबा, सौतेनी आमा–बुबा, छोरा–छोरी, दाजु–भाइ, दिदी–बहिनी, नाति–नातिनी, बाजे–बज्यै, ठूलो बुवा–ठूली आमा, काका–काकी, फुपू, मामा, जेठान–जेठानी, जेठी सासू, देवर–नन्द, साला–साली तथा उनीहरूका पति वा पत्नीलाई परिवारको परिभाषाभित्र राखिएको छ।
पार्टीले प्रस्तावित विधानमार्फत आधारभूत लोकतान्त्रिक मूल्य, सुशासन र पारदर्शितालाई संगठन सञ्चालनको मुख्य आधार बनाउने उल्लेख गरेको छ। साथै, पार्टीका सबै संरचना, कार्यविधि र नीतिहरू यिनै सिद्धान्तअनुसार निर्देशित हुने व्यवस्था प्रस्ताव गरिएको छ।
रास्वपाले पार्टीभित्र अवसरको समान वितरण, पारदर्शिता र सुशासन सुनिश्चित गर्न यस्तो कडा व्यवस्था आवश्यक भएको जनाएको छ।













