विश्वव्यापी तापक्रम वृद्धिलाई दशकौँसम्म प्रतिरोध गर्दै आएको अण्टार्कटिकाको समुद्री बरफ सन् २०१५ पछि अचानक तीव्र रूपमा घट्न थालेपछि वैज्ञानिक समुदाय चिन्तित बनेको छ। अहिले नयाँ अनुसन्धानले यस पछाडिको वास्तविक कारण पत्ता लगाएको छ।
वैज्ञानिक पत्रिका साइन्स एडभान्सेस मा प्रकाशित अध्ययनलाई उद्धृत गर्दै लाइभ साइन्स की विज्ञान पत्रकार सास्चा पारेले जनाएअनुसार अण्टार्कटिकाको समुद्री बरफको तीव्र क्षय शक्तिशाली पश्चिमी हावा, समुद्री सतहभित्रको तातो पानी, नुनिलोपन वृद्धि र मानवजन्य जलवायु परिवर्तनबाट सिर्जित प्रतिक्रिया चक्रका कारण भएको हो।
वैज्ञानिकहरूका अनुसार सन् २०१५ पछि अण्टार्कटिका पहिलेको जस्तो रहेन। अनुसन्धान टोलीका प्रमुख तथा भौतिक समुद्र वैज्ञानिक आदित्य नारायणनले ‘पूरै प्रणाली नै फरक तरिकाले व्यवहार गर्न थालेको’ बताएका छन्।
स्थिर देखिएको बरफभित्र लुकेको संकट
सन् २००० को दशक र २०१० को प्रारम्भिक वर्षहरूमा अण्टार्कटिकाको समुद्री बरफ तुलनात्मक रूपमा स्थिर देखिन्थ्यो। कतिपय क्षेत्रमा त बरफको फैलावट बढेको पनि देखिएको थियो। तर वैज्ञानिकहरूका अनुसार सतहमुनि गम्भीर परिवर्तन भइरहेको थियो।
अनुसन्धानले सन् २०१३ देखि २०२३ सम्म अण्टार्कटिकाको बरफ क्षय तीन चरणमा भएको निष्कर्ष निकालेको छ।
सन् २०२३ को फेब्रुअरीमा समुद्री बरफको क्षेत्रफल इतिहासकै न्यूनतम स्तरमा झर्यो। त्यही वर्ष जुलाईमा, जुन अण्टार्कटिकाको जाडो मौसमको उच्चतम समय मानिन्छ, पश्चिमी युरोपभन्दा ठूलो क्षेत्रफल बराबरको बरफ हराइसकेको थियो।
त्यसपछि पनि बरफको अवस्था सामान्य हुन सकेको छैन। सन् २०२४, २०२५ र २०२६ को प्रारम्भसम्म समुद्री बरफ ऐतिहासिक औसतभन्दा निकै तल रहेको अध्ययनले देखाएको छ।
पहिलो चरणः पश्चिमी हावाले समुद्रलाई बदल्न थाल्यो
वैज्ञानिकहरूले संकटको सुरुआत शक्तिशाली पश्चिमी हावाबाट भएको बताएका छन्। अण्टार्कटिकामाथिको ओजोन प्वालका कारण ध्रुवीय वायुमण्डलीय चक्र बलियो बन्दै गएपछि पश्चिमी हावा झन् तीव्र बन्यो।
यी हावाले सतहको चिसो पानीलाई उत्तरतर्फ धकेल्न थाले। सुरुवातमा यसले समुद्री बरफ फैलिन सहयोग गरेजस्तो देखियो, किनकि चिसो पानी महादेशको किनारबाट टाढासम्म फैलिएको थियो।
तर यही प्रक्रियाले सतहमुनि रहेको तातो र नुनिलो पानीलाई माथि उकास्न थाल्यो। यसले समुद्री सतहलाई सुरक्षित राख्ने अत्यन्त चिसो “जाडो पानी तह” कमजोर बनायो।
दोस्रो चरणः तातो पानी सतहमा पुग्यो
सन् २०१५ पछि अवस्था तीव्र रूपमा बदलियो। पश्चिमी हावा झन् शक्तिशाली बन्दै गयो र गहिराइको तातो पानी सतहसम्म आइपुग्यो।
अनुसन्धानले देखाएअनुसार तातो र नुनिलो पानीले चिसो सुरक्षात्मक तह भत्काएपछि समुद्री सतहमा तीव्र मिश्रण सुरु भयो।
नारायणनका अनुसार समुद्री बरफ क्षयको वास्तविक सुरुआत सतहमुनिबाट आएको यही ताप थियो।
समुद्रको माथिल्लो भाग नुनिलो बन्दै जाँदा पानीका प्राकृतिक तहहरू कमजोर भए। त्यसपछि अझ धेरै तातो पानी माथि आउन थाल्यो र बरफ पग्लिने प्रक्रिया तीव्र बन्दै गयो।
विशेष गरी पूर्वी अण्टार्कटिकामा बरफ क्षय तीव्र रूपमा बढेको अध्ययनले देखाएको छ।
तेस्रो चरणः आफैँलाई बल दिने विनाशकारी चक्र
सन् २०१८ सम्म आइपुग्दा समुद्री बरफको क्षय आफैँलाई निरन्तर बल दिने प्रक्रियामा बदलियो।
पहिले सूर्यको किरण फर्काउने सेतो बरफ हराउँदै गएपछि गाढा समुद्री सतहले अझ बढी ताप सोस्न थाल्यो। यसले समुद्रलाई झन् तातो बनायो र प्रत्येक वर्ष नयाँ बरफ बन्न ढिलो हुन थाल्यो।
बरफ ढिलो बन्ने, कम बन्ने र समुद्रले अझ बढी ताप सोस्ने प्रक्रिया निरन्तर दोहोरिन थाल्यो।
समुद्री बरफ पग्लिँदा समुद्रमा ताजा पानी मिसिने भएकाले पहिले समुद्रको माथिल्लो तह चिसो र कम नुनिलो रहन्थ्यो। तर बरफ कम बन्न थालेपछि त्यो प्रक्रिया पनि कमजोर भयो।
फलस्वरूप समुद्रको सतह अझ नुनिलो बन्दै गयो र तातो पानी माथि आउन सहज हुँदै गयो।
यही कारणले सन् २०२३ मा इतिहासकै न्यूनतम समुद्री बरफ अवस्था देखिएको वैज्ञानिकहरूको निष्कर्ष छ।
विश्वव्यापी असरको चेतावनी
वैज्ञानिकहरूका अनुसार अण्टार्कटिकाको समुद्री बरफ क्षय केवल ध्रुवीय समस्या होइन, यसले विश्वव्यापी जलवायु प्रणालीलाई असर गर्न सक्छ।
पछिल्ला ५० वर्षमा वायुमण्डलमा थुप्रिएको अतिरिक्त तापको करिब ७५ प्रतिशत दक्षिणी महासागरले सोसेको छ। समुद्री बरफले यो ताप र कार्बन महासागरको गहिराइमा पठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
तर समुद्री बरफ घट्दै जाँदा महासागरको त्यो क्षमता कमजोर हुन सक्छ। यसले भविष्यमा अझ तीव्र तापवृद्धि निम्त्याउने जोखिम रहेको वैज्ञानिकहरूको चेतावनी छ।
यसको असर जीवजन्तुमा पनि देखिन थालेको छ। क्रिल, ह्वेल, डल्फिन र पेन्गुइनजस्ता जीव समुद्री बरफमा निर्भर छन्। कतिपय क्षेत्रमा पेन्गुइन बच्चाहरूको सामूहिक मृत्यु भइसकेको छ।
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश
अनुसन्धानकर्ताहरूका अनुसार अण्टार्कटिका पूर्ण पतनको अवस्थामा पुगेको छैन, तर अहिलेको अवस्था “पूर्ण रूपमा असामान्य” बनिसकेको छ।
भविष्यमा हिमपात बढ्नु वा हिमनदी पग्लिनुका कारण केही सन्तुलन फर्किन सक्ने सम्भावना भए पनि हरितगृह ग्यास उत्सर्जन जारी रहे समुद्री बरफ झन् तीव्र रूपमा घट्ने वैज्ञानिकहरूको चेतावनी छ।
अध्ययनले निष्कर्ष निकालेको छ कि सन् २००० को दशकको उच्च समुद्री बरफ अवस्थाबाट सन् २०२० को दशकको ऐतिहासिक न्यूनतम अवस्थामा पुगेको परिवर्तन ‘पृथ्वीको जलवायु प्रणालीमा देखिएको सबैभन्दा ठूलो समकालीन परिवर्तनमध्ये एक’ हो।
वैज्ञानिकहरूका अनुसार यदि यो क्रम रोकिएन भने भविष्यमा अझ तीव्र विश्वव्यापी तापवृद्धि, समुद्री पारिस्थितिक प्रणालीको क्षय, कार्बन भण्डारण क्षमतामा गिरावट तथा समुद्री सतह वृद्धि जस्ता गम्भीर संकट निम्तिन सक्छन्।













