महोत्तरी, २ जेठः मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।
वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रुपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।
सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा बर्तालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।
बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ ।
सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।
साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । प्राचीन पर्व संस्कृतिको जगेर्नासँगै यो पर्व आपसी भेटघाट र सँगसाथ खुलेर कुराकानी गर्ने अवसर पनि भएको बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुर बताउनुहुन्छ ।
मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ । पर्वले सांस्कृतिक एकता र परम्पराको जगेर्नाको सन्देश दिने उहाँको भनाइ छ ।










