काठमाडौं ।सर्वोच्च अदालतको आदेशअनुसार हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली भएपछि बुधबार उनले पदभार सम्हालेका छन्।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो।
शाक्यले आफूविरुद्ध गरिएको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार सरुवा तथा हटाउने निर्णय बदर गरी शाक्यलाई पूर्वस्थितिमा पुनर्स्थापना गर्न आदेश दिएको थियो।अदालतको आदेशमा कार्यकारी निर्देशक हटाउने विषय प्राधिकरणको विनियमावली, २०६१ तथा कार्यसम्पादन सम्झौतामा आधारित प्रक्रियाअनुसार मात्र गर्न सकिने उल्लेख छ।













