पोखरा, १३ कात्तिक । पोखराका विभिन्न चार घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छट पर्व मनाइएको छ । बिशेषगरी तराई क्षेत्रमा बस्ने हिन्दूहरुले छट पर्वको पूजा गरिरहेका छन् ।
पोखराका नारायणस्थान र फेवाताल किनारका घाटमा भइरहेको छट पूजालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्बोधन गर्नुभएको छ । उक्त अवसरमा बोल्दै प्रमुख आचार्यले तराई मुलका बासिन्दाले मनाउँदै आएको छट पर्वको महत्व पहाडी क्षेत्रमा समेत वढ्दै गएको बताउनुभयो । तराई तथा भारतीय मुलका मानिसहरु पोखरामा पनि प्रसस्तै भएकाले यो पर्वमा यहाँपनि पूजा हुनुले धर्मप्रतिको आस्था थप वढेको आचार्यले बताउनुभयो ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, नदीपुर स्थित नारायणस्थानको सेतीनदी घाट, कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छट पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको छ ।

छट पर्व पूजालाई व्यवस्थित गर्न बनेको छट पर्व पूजा समिति पोखराका अध्यक्ष रामआधार प्रसाद गुप्ताले छट पर्वमा पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकै कारण खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको बताउनुभयो ।
तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छट पर्व मनाउँदै आएको र छट पर्व मनाउनेको संख्या प्रतिवर्ष वृद्धि भएकै कारण नदी तथा तालका घाटहरुलाई यस वर्षदेखि व्यवस्थित गरिएको बताउनुभयो । पोखराका घाटहरुमा छट पूजागर्नेको संख्या चार हजार रहेको जानकारी सो अवसरमा दिइएको छ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने गरिन्छ ।
पूजा समितिका सचिव गोरखनाथ जैसवालले यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफू र व्रत नबस्ने परिवारका अन्य सदस्यलाई समेत ख्वाउने चलन छ ।
परम्परा अनुसार छटका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा जाग्राम बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
सूर्य उपासनासँग सम्बन्धित छट पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरु स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन जसलाई खर्ना भनिन्छ समितिका उपाध्यक्ष अनिल गुप्ताले भन्नुभयो । षष्ठीका दिन नदी तथा पोखरीका घाटमा व्रतालुहरुले स्नान गरी बेलुकाको समयमा जलासयमा उभिएर सूर्यलाई फलफूल,, ठेकुवा र कसार अर्घ दिन्छन् । शुद्ध भावनाले यो वर्त गर्नाले तुरुन्त फल प्राप्ति हुने विश्वास धर्मालम्बीहरुको छ । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट छट पर्व शुरु हुन्छ । यो पर्व नेपाल र भारतका विभिन्न स्थनमा मनाइन्छ ।













