विभिन्न धार्मिक, सांस्कृतिक क्रियाकलाप र मसलामा प्रयोग गरिने तिल (बियाँ वा तेल) लाई आजभोलि उच्च रक्तचाप तथा कोलेस्टेरोल घटाउन र एन्टिअक्सिडेन्टका रुपमा प्रयोग गरिन्छ । तिलमा ५५ प्रतिशत तेल र २० प्रतिशत प्रोटिन पाइन्छन । तिलको तेल लिनोलेइक र ओलिक एसिडको प्रमुख स्रोत हो । तिलको बियाँमा २.५ प्रतिशसम्म लिग्नन (सेसमिन, सेममोलिन) भनिने सक्रिय केमिकल पनि पाइन्छ । यस्तो लिग्नन स्वास्थ्यका लागि धेरै फाइदादायक मानिन्छ ।
चार सातासम्म कालो तिल (२.५२ ग्राम/दिन) खाएपछि उच्च रक्तचाप घटेको र भिटामिन ई को मात्रा बढेको अध्ययनमा पाइएको छ । तिल सेवनबाट रगतमा रहेका खराब चिल्लो पदार्थ (कोलेस्टेरोललगायत) घट्ने सम्भावना देखिएको छ । तिल लाभदायक खाद्यपदार्थ हुनुका साथै औषधिका रुपमा यसको प्रयोग हुन सक्ने देखिएको छ ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट