काठमाडौं । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीमाथि ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ। आरोप पुष्टि हुने गरी सामाजिक सञ्जालमा उनको व्यवहार देखिने भिडियोसमेत भाइरल बनेपछि प्रहरी प्रशासनले कानुनी प्रक्रिया थालेको हो।
जेठ २३ गते, ट्राफिक प्रहरीले ओभरलोड बाँस लोड गरिएको को १ त ४९४३ नम्बरको ट्याक्टर रोकेर जरिवाना गरेको थियो। उक्त ट्याक्टर गाउँपालिका अध्यक्ष अन्सारीका आफन्तको भएको खुलेपछि उनी आफैं घटनास्थलमा पुगे। त्यहाँ पुगेर उनले ट्राफिक प्रहरी सई कमलप्रसाद दाहाल र असई सन्तोष मिश्रमाथि अभद्र भाषा प्रयोग गर्दै गालीगलौज गरे।
अन्सारीले प्रहरीले घुस खाएको आरोपसमेत लगाएका थिए भने, दूध बोकेको मोटरसाइकललाई रोकेर दूध फाटेको भन्दै पुरानो घटनाको पनि गुनासो थपेका थिए।
घटनाको भिडियो सार्वजनिक भएपछि आलोचना चुलिएको छ। सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अध्यक्ष अन्सारीले ती शब्द आफूले नबोलेको दाबी गर्दै भिडिओ एआई प्रविधिबाट बनाइएको दाबी गरेका छन्। उनले आफैंले भिडियो पोस्ट गर्दै म निर्दोष हुूँ भन्ने प्रयास गरेका छन्।
सुनसरीका एसपी सुमनराज तिम्सिनाले सार्वजनिक स्थानमा दुर्व्यवहार, प्रहरीको मनोबल गिराउने, र ड्युटीमा बाधा पुर्याउने विषयमा मुद्दा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन्। आवश्यक प्रमाण र कागजात संकलन गरी माथिल्लो निकायलाई जानकारी गराइएको छ।
स्थानीय सरकारको जिम्मेवार नेतृत्वबाट सार्वजनिक स्थानमा यस्तो आचरण हुनुले स्थानीय शासनप्रतिको भरोसा कमजोर बनाएको विश्लेषकहरूको धारणा छ। कानुन सबैका लागि बराबर हो भन्ने मान्यताको परीक्षण यतिबेला कानुनी प्रक्रियाले गर्ने देखिन्छ। गाली–गलौजको भिडियो र त्यसको पृष्ठभूमिमा उठेका प्रश्नहरूले अब सत्यको परीक्षण अदालतमा हुनेछ।