ओलम्पिकमा आठ स्वर्णपदकमाथि कब्जा जमाएर माइकल फेल्प्स् इतिहासका सर्वाधिक सफल खेलाडी बनेका छन् । बेइजिङ ओलम्पिकमा अमेरिकी पौडी टोलीको प्रतिनिधित्व गरेका फेल्प्स् जितेका आठ स्वर्ण पदकमध्ये सात स्पर्धामा विश्व कीर्तिमान तथा एकमा ओलम्पिक कीर्तिमान कायम गरेर एउटै ओलम्पिकमा सर्वाधिक स्वर्णपदक जित्ने इतिहास रच्न सफल भएका हुन् ।
फेल्प्स्ले आफ्नो सफलताको श्रेय तीन कुरालाई दिएका छन् । कल्पना, साहस र लगनशीलता । उनको सफलताको यति सहज र सटिक सूत्र सुन्दा हामी आश्चर्यमा पर्छाैं, तर यथार्थ यही हो । यस सूत्रलाई उनले कर्मबाट पुष्टि गरिसकेका छन् । फेल्प्स्ले यो अवस्थासम्म आइपुग्न १८ वर्षको मेहनत र समय खर्चेका छन् । उनी पाँच वर्षको उमेरदेखि पौडीमा तल्लीन थिए । नियमित अभ्यासले गर्दा उनको पैतालाको आकार लाम्चो भयो भने फोक्सोको अक्सिजन लिने क्षमता बढ्दै गयो । आफ्नो कल्पनालाई सार्थकता प्रदान गर्न साहस जुटाएका फेल्प्स् निरन्तर अभ्यासका कारणले सफल भए ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट