काठमाडौं– झन्डै १ बर्षको अन्तरालपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच कुराकानी भयो।
अन्य नेताको पहलमा भएको यो कुराकानीले आगामी महाधिवेशनको नयाँ खाका कोर्ने तयारी भएको बुझिएको छ।
दुवैको मिलनविन्दुको पहिचान समेत गरिएको छ। अघिल्लो महाधिवेशनमा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित थापा सभापतिको तयारीमा रहेका थिए।
तर अब त्यसो नभई कोइरालालाई सभापति मानेर जाँदा प्रधानमन्त्रीका निम्ति थापालाई अगाडि सार्न सकिने बताइन्छ।
‘१५औं महाधिवेशनले शेखर दाईलाई सभापति जिताउने हो भने प्रधानमन्त्रीका उम्मेदवार गगन थापा रहेको भनी चुनावी प्रचार पनि हुन्छ’, एक नेता भन्छन्,‘शेखर दाईले सार्वजनिक रुपमा नै आफू सभापतिका लागि मात्र लड्ने बताइसक्नुभएको छ।’
अहिले कांग्रेसका विभिन्न समूह बनिरहेका बेला अनुभवी सभापति र उत्कट केही गर्न सक्ने क्षमतावान प्रधानमन्त्रीको खोजी भैरहेको भनी यहि मिलनविन्दु तयार पार्ने काम भैरहेको छ।