काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अनियमितताको ठहर गर्दै प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको उपसमितिले नागरिक उड्डयन प्राधिकरण (क्यान) का बहालवाला र पूर्वमहानिर्देशकहरूलाई कडा कारवाही सिफारिस गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरिएको उपसमितिले करिब एक वर्षको अनुसन्धानपछि आइतबार प्रतिवेदन बुझाउँदै प्रमुख जिम्मेवार पदाधिकारीहरूलाई हदैसम्मको कानुनी कारवाही गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशनसहित सिफारिस गरेको हो।
उपसमितिको प्रतिवेदनअनुसार विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नसम्म जिम्मेवारी पाएका अधिकारी र कर्मचारीहरू प्रक्रियागत त्रुटि, लापरवाही र आर्थिक अनियमिततामा संलग्न पाइएका छन्।
कारवाही सिफारिसमा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल, पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलको नाम उल्लेख छ।
यस्तै आयोजनाका प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रवीन न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेलमाथि पनि कडा कारवाहीको सिफारिस गरिएको छ।
उपसमितिले बहालवाला पदाधिकारीहरूलाई तत्काल निलम्बन गर्न र सबै दोषीहरूलाई शीघ्र छानबिन तथा अनुसन्धान गरी कडाभन्दा कडा कानुनी कारवाही अगाडि बढाउन प्रतिवेदनमार्फत सुझाव दिएको छ।













