काठमाडौं : अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही समूहको सैन्य इलाका लक्षित हवाई आक्रमण गरेको छ।
हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा मिसाइल आक्रमण गरेको केही समयपछि अमेरिकाले हुथी समूहविरुद्ध आक्रमण गरेको हो।
अमेरिकाले हुथी समूहको सैन्य कमाण्ड क्षेत्रमा आक्रमण गरेको छ। यो क्षेत्रबाट लाल सागर लगायतका क्षेत्रमा हुने ड्रोन, मिसाइल तथा रकेट आक्रमणको कमाण्ड हुँदै आएको थियो।
उक्त आक्रमणबाट हुथी समूहमाथि ठूलो क्षति पुगेको अधिकारीहरुको दाबी छ। यस्तै अमेरिकी सेनाले लाल सागरमा हुथी विद्रोही समूहका कयौँ ड्रोन तथा एउटा एन्टी मिसाइल क्रुज नष्ट गरेको छ।
शुक्रबार राति हुथी समूहले इजरायलको तेल अभिवमा मिसाइल खसालेको थियो। बलियो एन्टि मिसाइल प्रणाली भएको तेल अभिवमा हुथी समूहले गरेको प्रोजेक्टाइल मिसाइल खस्दा १६ जनाभन्दा घाइते भएका थिए।
यमनमा सक्रिय हुथी समूहलाई इरानको समर्थन छ। यो समूहले यमनको उत्तर–पश्चिम क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ।












