यतिबेला पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन दुबैजना राजनीतिमा सक्रिय रुपमा देखिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएर पार्टी अध्यक्ष बन्ने योजनामा छिन भने पूर्वउपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रमा फर्किएर पार्टी उपाध्यक्ष बन्ने तयारीमा छन् ।
देशको सर्वोच्च पदमा आसिन भइसेककी पूर्वराष्ट्रपति विद्या भण्डारी यतिबेला सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन् । उनि नेकपा एमालेमा फर्किने तयारी चलिरहँदा पार्टीमा उनको स्थान के हुने भनेर बहस सुरु भएको छ । गत ९ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत गरेपछि बहस सुरु भएको हो । विद्या भण्डारी सर्बसम्मत रुपमा पार्टीको अध्यक्ष बन्ने दाउमा छिन् । अहिले भण्डारी भेटघाट र सार्वजनिक अभिव्यक्तिमार्फत सक्रिय राजनीतिको सम्भावना खुला गरेर हिडिरहेकी छिन् ।
एमाले पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपतिबाट अवकाशपछि सुरक्षाकर्मी र डेराभाडाबाहेक राज्यको अन्य सेवा सुविधा परित्याग गरेर राजनीतिमा पुनरागमनको ढोका खुला राखेकी छिन् । अध्यक्ष ओलीले नै स्पष्ट जनाउ दिने विचार राखेपछि भण्डारीलाई सम्भावित सर्वसम्मत अध्यक्षका रूपमा अथ्र्याएर नेताहरूले पार्टीभित्र अघोषित आन्तरिक बहस चलाइरहेका छन् । आगामी एघारौँ महाधिवेशन २०८३ भित्र आयोजना हुने भएकाले अहिल्यै नै नीति र नेतृत्वको बहस एमालेपंक्तिमा खुला भइसकेको छैन । तर, महाधिवेशन केन्द्रित नेताहरूका गतिविधिमा भण्डारी जोडिन थालेकी छिन् ।
भण्डारी सक्रिय राजनीतिमा फर्कने जनाउमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा सक्रियता प्रमुख छ । यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका बहुसंख्यक पदाधिकारीहरूको उनको निवासमा बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाट पनि चलिरहेको छ ।
एमालेका कतिपय नेताहरूको बुझाइमा केही राजनीतिक कारणले पनि भण्डारी अध्यक्ष हुने आधार सहज छ । ती नेताहरूका अनुसार अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज छैन, यस्तोमा उनी उत्तम विकल्प हुन सक्छिन् । त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादीलाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका लागि भण्डारीको व्यक्तित्व सहज हुन सक्ने ती नेताहरूको ठम्याइ छ । पार्टीको आन्तरिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा भण्डारीको उपस्थितिले पनि उनी छिट्टै सक्रिय राजनीतिमा आउने योजनामा रहेको पार्टीपंक्तिको बुझाइलाई बल पुगेको छ ।
तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले दुईपटक राष्ट्रपति निर्वाचित भएर सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिन् । पार्टीसम्बद्ध नेता–कार्यकर्ता, शुभेच्छुक र सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेटघाटमा भण्डारीले तत्काल राजनीतिमा फर्किने सोच नभए पनि तत्कालीन आवश्यकताले नै सबै निर्धारण गर्ने बताएर विकलप खुला रहेको जनाउ दिँदै आएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारी मात्र होइन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सक्रिय राजनीतिमा फर्किसकेका छन् । दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई प्रमुख प्रतिपक्ष दल माओवादीले उपाध्यक्ष बनाउने गृहकार्य थालेको छ । युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई पार्टीमा फर्काउन माओवादीले विधान संशोधनको समेत तयारी गरेको छ । पुन आफैँले पार्टीमा फर्किएर काम गर्न तयार रहेको रुचि राखेका छन् । पुनसहितका नेतालाई पदाधिकारीमा फर्काउन विधान संशोधन मस्यौदा तयार पारिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले पदाधिकारी संख्या बढाउने गरी मस्यौदा तयार पारेको थियो ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि पुन २०७२ कात्तिक १४ मा पहिलोपटक उपराष्ट्रपति निर्वाचित भएका थिए । उनी २०७४ को निर्वाचनपछि दोस्रोे कार्यकाल पनि उपराष्ट्रपतिमा दोहोरिए । पहिलोपटक संक्रमणकालीन अवस्था भएकाले थोरै कार्यकाल सम्हालेका पुनले दोस्रोपटक भने पाँच वर्ष कार्यकाल सम्हाले । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ । पार्टी, नेतृत्व र स्वयं पुनको चाहना र सोचले उनी सक्रिय राजनीतिमा फर्किन चाहेको नेताहरू बताउँछन् । पुन प्रचण्डका विश्वास पात्रमध्येका एक हुन् । पुन उपराष्ट्रपति हुनुअघि पार्टीको स्थायी समिति सदस्य थिए । उनी माओवादी जनसेना पूर्वकमान्डरसमेत हुन् ।













