काठमाडौं – प्रहरी बृत्त सोह्रखुट्टे र महाराजगञ्जका दुईजना घुमुवा प्रहरीको खेलका कारण काठमाडौंका सविन शाक्य ५ दिन देखि महाराजगञ्जस्थित प्रहरी हिरासतमा रहेको तथ्य खुलेको छ ।
पीडित सविन शाक्यका अनुसार उनलाई लेनदेनको विषयलाई लिएर काभ्रे घर भएका दिपेश श्रेष्ठलाई बलजफ्ती जाहेरी दर्ता गर्न लगाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको हो । पीडित शाक्यले भने – ‘मेरो र दिपेश श्रेष्ठकोबीचमा लेनदेनको विषय थियो तर, त्यही विषयमा विवाद भएका कारण मेलमिलापका लागि दिपेश प्रहरीकोमा पुगेछन्, तर प्रहरीले मेलमिलापको साटो जाहेरी दिन लगाएर मलाई पक्राउ गरि म माथि अन्याय गरेको छ ।’
श्रेष्ठले मेलमिलाप गर्छु भन्दा पनि उल्टा उनलाई महाराजगञ्ज प्रहरी बृत्तमा कार्यरत वरिष्ठ सई भरत कार्की, राजन ढुंगाना प्रहरी निरीक्षक र प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सिनाले तैले मिलापत्र गरे तँलाई नै थुन्छु भनेर धम्क्याएर जबरजस्ती जाहेरी दिन लगाएको पीडितका आफन्तको दाबी छ । अहिले प्रहरीले हिरासत भित्र पिट्ने तथा यातना दिएर मानव अधिकार हनन् गरेको समेत उनको गुनासो छ ।प्रहरीले सविन शाक्यको घरमा समेत कुनै खबर नगरी राखेको र स्वयमा आमा भेट्न जाँदा समेत भेट्न नदिएको पीडितको गुनासो छ ।
यतिमात्र होइन जाहेरी पछि हिरासतमा रहेका सविन शाक्यको मामासँग फोन गरी प्रहरीले १० हजार रुपैयाँ घुस मागेको समेत पीडितको आरोप छ । पीडित परिवार स्रोतका अनुसार महाराजगञ्ज बृत्तका एक प्रहरी निरीक्षकले घटना मिलाइदिने भन्दै ब्रान्डेड रक्सी समेत मागेका थिए । यो विषयमा प्रहरी बृत्त महाराजगञ्जका डिएसपी रविन्द्र पौडेल अनभिज्ञ छन् । अहिले प्रहरीले सविन शाक्यको भनाई इन्कार गर्दै दिपेश श्रेष्ठको जाहेरी अनुसार नै शाक्यलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेका बताएको छ ।
काभ्रे घर भएका दिपेश श्रेष्ठले आफूलाई कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने बताउँदै आएका छन् त कहिले भ्लगर भएको दाबी गर्दै आएका छन् । यतिमात्र होइन उनले आफूलाई पलम्बर, म्यानपावरको आधिकारीक एजेन्ट सम्म बताउने गर्छन् । तर उनि आधिकारीक एजेन्ट भने होइनन् । दिपेश श्रेष्ठले ८० हजार लाग्ने ठाउँमा २ लाख ५० हजार रुपैयाँ लिएर रमेश दर्लामी कामका लागि खाँडी मुलुक पठाएका थिए । पछि दर्लामीका साथि सविनले पैसा बढी लिएको पैसा फिर्ता माग्दा उनिमाथि विभिन्न आरोप लगाई फसाउन खोजिएको पीडितको गुनासो छ ।
स्रोतका अनुसार एक युवतीको विषयलाई लिएर सोह्रखुट्टे प्रहरी बृत्त र महाराजगञ्ज प्रहरी बृत्तका दुईजना घुमुवा प्रहरीको सविनसँग लफडा परेको थियो । त्यही रिस साध्न उतिहरुले अनेक तिक्डम गरी फसाउन खोजेको पीडितका आफन्तहरु बताउँछन् ।













