काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका तीन जनाको उद्धार भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड–१० की १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सिता थापा र ४६ वर्षीय संगीता बुढालाई उद्धार गरेर केहि बेरअघि काठमाडौं ल्याइएको हो ।
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।
तीन जना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु-याइएको छ ।













