पोखरा, १ पुस । विश्व शान्तिको कामना तथा पितृ उद्धारको लागि पोखरा–१० को रामघाट स्थित गोपाल गुम्वामा शुक्रबारदेखि त्रिपीटक पाठ वाचन तथा तोनाग घोसुम पूजा शुरु गरिएको छ ।
विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्वाका प्रमुख लामा गोपाल गुरुङले दिनुभयो ।
गुरुङहरुले मान्दै आएको ल्होसार पर्व अन्तरगत तो ल्हो (बाघ वर्ग) विदाई र हि ल्हो (बिरालो वर्ग ) आगमनको अवसरमा विश्व शान्तिको लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिनुभयो ।
पूजाको प्रमुख अथिति पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शान्तिका लागु असल भावना, सत्कर्म र अमृत वचन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले शान्तिबाट नै आनन्दमय जीवन प्राप्त हुने बताउनुभयो । उक्त पूजा दशदिनसम्म चल्ने बताइएको छ ।
प्रमुख अतिथि गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेको र पोखरा महानगरपालिकाले माध्यमिक शिक्षासम्म पठन पाठनका लागि समन्वय गर्ने वचन समेत दिनुभयो ।
सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मिन गुरु, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। गुम्बाका प्रमुख लामा गोपाल गुरुङको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त पूजामा विभिन्न् जिल्लाबाट बौद्ध उपसक तथा उपासिकाहरुको उपस्थिती रहेको जानकारी गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङले दिनुभयो ।













