मन वर्तमानमा रहन सक्तैन, यो मनको सर्वकालिक समस्या हो । राग र लोभ छ भने भ्रम आफै पैदा हुन्छ । धेरै पाऊँ, सधैँ राम्रै होस् भन्ने आकाङ्क्षाहरू भ्रमका बीज हुन् ।
आयोजित धर्म, राष्ट्रवाद, वर्णवाद, वर्गवाद, क्षेत्रवाद एवं कविलावादहरूले भ्रमलाई पोषण दिन्छन् । मेरो शरीर, मेरो परिवार, मेरो जाति, मेरो धर्म, मेरो ईश्वर, मेरो देश भन्ने मेराले अन्यको मेरासित भेद गरेर कलह, हिंसा एवं हत्याको वृद्धि गर्दछ । मेरो तेरो भन्नु भ्रमको विस्तार हो ।
सबै समस्या म र मेरो भन्ने भावना र शब्दमा छन् मेरो भन्ने स्मृति हो, म भन्ने प्राण हो जब हामी स्मृतिलाई प्राणमा राखेर सजग हुन्छौ तब सहजै एकान्त, शान्त एवं प्रसन्न अवस्थामा हुन सक्छौँ । प्रसन्न रहनाले एकान्त आउँछ इच्छा र अपेक्षाको अभावमा मन शान्त हुन्छ । एकान्तमा शान्त मन प्रसन्नतामा रहन्छ । वर्तमानमा रहनु भनेको इच्छा, स्मृति एवं कल्पनाहरूका लागि यसै क्षण मर्नु हो । आत्तिने एवं आसक्त हुने बानीबाट मुक्त रहनुहोस् तपाईं निरन्तर आनन्दमा रहनुभएको हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













