दाल–भात, डुकु वा काउली, मुलाको अचार ज्यादै स्वादिलो एवम् स्वस्थकर नेपाली खाना हुन् । नेपाली खानामा काउली, बन्दा, रायो, तोरी, मुला, सलगम आदि नै तरकारीको रुपमा हुनेगर्छन् । अरु एसियाली मुलुकमा पनि यी तरकारी निकै लोकप्रिय मानिन्छन् ।
यस्ता सागसब्जीमा फोलेट, क्लोरोफिल, सल्फरयुक्त ग्लुकोसिनोलेट पाइन्छन् । सय ग्राम काँचो रायोको सागमा ११८.१ देखि ५४४.५ मिलिग्राम ग्लुकोसिनोलेट पाइन्छ । रायो वा तोरीको गुन्द्रुकमा पनि आइसोथायोसाइनाइड पाइन्छ । यस्ता तरकारी नियमित खाने गरे स्तन, ब्लाडर र प्रोस्टेड क्यान्सर नियन्त्रणमा सहयोग हुन सक्ने अनुसन्धानहरुले पुष्टि गरेका छन् ।
अर्काे बुझ्नुपर्ने कुरा के छ भने उच्च तापमा धेरैबेर पकाउँदा ग्लुकोसिनोलेट रासायनिक परिवर्तन भई नाश हुन्छ । त्यसैले यस्ता तरकारी सकेसम्म काँचै वा कम पकाएर खानु स्वस्थकर हुन्छ ।













