गाउँघरतिर जन्मेहुर्केका तपाईं हामी धेरैले फापरको रोटी खाएको हुनुपर्छ । फापरको रोटी स्वादिलो हुनुको साथै हाम्रो शरीरका लागि अत्यन्त लाभदायक पनि हुन्छ । त्यसैले फापरकार परिकार नेपाली जनसमाजमा मात्र नभएर यसको लोकप्रियता संसारभर बढिरहेको छ ।
जापानमा फापरको पिठोबाट बन्ने ‘सोबा नुडल्स’ ज्यादै लोकप्रिय छ । फापर कम ग्लेसेमिक इन्डेक्स भएको खाद्यपदार्थ हुनाले मधुमेहका विरामीलाई लाभदायक बन्न सक्छ । फापरको पिठो नियमित खाने गरे बढ्दो चिनी, इन्सुलिन र कोलेस्टोरोलको न्यूनीकरण हुन्छ । फाइबरयुक्त स्टार्चका अलावा भिटामिन बी १, बी २ प नि पाइन्छ ।
फापरलाई ‘रुटिन’ भनिने एन्टिअक्सिडेन्टको धनी स्रोत मानिन्छ । रुटिन एउटा यस्तो पोलिफेनोल हो, जसमा उच्च रक्तचाप र हृदयसम्बन्धी रोग लाग्नबाट बचाउन सक्ने गुण हुन्छ । फापर खानाले बाइल (पित्त) को प्रवाह बढ्छ र अनावश्यक कोलेस्टेरोल घट्छ । देशको धेरैजसो भागमा फापर उत्पादन गर्न सकिने यसका परिकार स्वादिलो हुनुको साथै स्वास्थ्यका दृष्टिले अत्ति नै लाभदायक हुने हुँदा यस्तो महत्वपूर्ण फापरलाई आमनेपालीले मुख्य खाना बनाउन अत्ति जरुरी हुन्छ ।













