बोधका लागि जो स्वभाव, चीज हामी सम्झन चाहन्छौँ, त्यसको उत्पत्ति परिपालन, वातावरण तथा प्रवृत्तिका बारेमा जान्दछौँ । जबसम्म समग्रलाई हामी जान्दैनौँ, तबसम्म सम्झेँ भनेर भन्न सक्तैनौँ ।
जसले अर्काले भनेको कुरा जानकारीविना स्वीकार गर्छ, त्यो त सदाकाल मूर्ख अज्ञानी र पक्षपाती रहन्छ । बीज र जीव दुवैको केन्द्र एउटै हो, सम्झने प्रक्रिया एउटै छ, प्रकार भिन्न हुन सक्छन् ।
नारी र पुरुषको मानसिक स्मरण स्थूल रूपमा भिन्न छ, नारी भावुक छ, पुरुष अभिमानी परन्तु सूक्ष्ममा भावुकता पनि अभिमानकै आकार हो तथा अभिमान भावनाको प्रकाश मात्र हो, भावुकलाई अभिमानी हुन र अभिमानीलाई भावुक हुन केही बेर लाग्दैन । केवल स्वार्थ र लोभको मात्रामा हेरफेर हुनुपर्छ ।
नारीमा मोहको मात्रा, पुरुषमा लोभको मात्रा स्थूल रूपमा अधिक देखिन्छ । सूक्ष्ममा आसक्ति नै उभय रूप भएर प्रकट भएको जानिन्छ, जसको मूल हो भ्रम, विश्वास, आग्रह र तृष्णा । यी अज्ञानका स्फुरण हुन् ।
जन्म र मृत्यु कसको हुन्छ त्यो नजान्नु अज्ञान हो । यसै अज्ञानबाट व्यवस्थाको प्रपञ्चले शास्त्र र कामनाको तृष्णाले देवीद्यौता, तन्त्रमन्त्र कर्मकाण्डको सृजना गर्छ । यो सम्झनु ज्ञान हो वा अज्ञानको नाश हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












