सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाभर स्वस्थानी व्रतकथालाई आधार बनाएर नेपालका विभिन्न शक्तिपीठहरुको पूजा आराधना गर्ने गरिन्छ । सयौँ वर्षदेखि चलिआएको र वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक रुपमा पूजापाठ गरिने यस स्वस्थानी व्रतकथालाई ३१ अध्यायमा विभाजन गरी कथालाई बुझ्न र पढ्न सजिलो बनाइएको छ ।
स्वस्थानी व्रतकथाको दोस्रो अध्यायमा स्कन्द कुमारजीले अगस्त्यमुनिलाई यो संसारको जीवन र जगतको कसरी सृष्टि भयो ? भन्ने विषयमा बताउनुभएको कुरा उल्लेख गरिएको छ ।
यो संसार जलमय छँदा विष्णु भगवान्का नाभिबाट सहस्रदल कमल उत्पन्न भयो । त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए, त्यही अवसरमा विष्णु भगवान्को कानेगुजीबाट अत्यन्त पराक्रमी मधु र कैटभ नामका दुई वीर उत्पन्न भए । ती दुई दैत्यलाई विष्णुले युक्तिपूर्वक दुवैलाई मारेपछि तिनै दैत्यको बोसो समुद्रको जलमा जमेर पृथ्वी भइन्, मासुले पर्वत र हाडले पत्थर भयो । यो देखेर ब्रह्माले संसार सृष्टि गरे । पहिले चौध भुवन सृष्टि गरे, चतुर्दश भुवन र द्वीप सृष्टि गरे, त्यसपछि दिव्य बाह्र हजार वर्ष कठोर तपस्या गरेपछि महादेवबाट वर प्राप्त गरी पहिले शिवलोक, विष्णुलोक, ब्रह्मालोक, उमालोक, स्कन्दलोक र अनेक लोकहरुको सृष्टि गरे र प्राणीको सृष्टि गर्ने इच्छा भयो र मनले चिताउनसाथ कश्यप प्रभृत्रि एक सय ऋषि सृष्टि भए ।













