जाडोमा सबैले ऊनीको लुगा लगाउँछन् र धुनु पनि पर्छ । तर धेरैले ऊनीका लुगा धुँदा बिग्रन्छ र न्यानोपन पनि जान्छ भन्ने चिन्ताले धेरै हप्तासम्म ऊनीको लुगा धुँदैनन् र बारम्बार लगाइरहन्छन् । यसरी कुनै पनि कारणले भए पनि ऊनी कपडा नधोइ लगाउनु वा ढिलो गरी धुनु गलत हो । ऊनीका कपडा पनि सामान्य गर्मीको लुगा जस्तै धुनुपर्छ र सुकाउनुपर्छ ।
थाहा पाउनुपर्ने कुरा के हो भने ऊनीको लुगा धुने र सुकाउने गल्तीका कारण ऊनीको लुगा बिग्रने हो । ऊनीको लुगा घरमा धुनु नै सबैभन्दा सुरक्षित र उत्तम हुन्छ । सामान्यतया लगाउने ऊनी स्वेटर, सल, स्कार्फ, कोट आदि घरमा सजिलै धुन सकिन्छ । ऊनी कपडाहरूमा सधैँ हल्का डिटर्जेंट मात्र प्रयोग गर्नुपर्छ । ऊनीको लुगा धुने मेसिनबाट वा हातले रगडेर दुवै तरिकाले धुन सकिन्छ । उनेको लुगालाई अन्य लुगासँग नमिसाइकन छुट्टै हल्का गरी धुने मोडमा राख्नुपर्छ ।
ऊनीको लुगा खासगरी सुकाउँदा हुने गल्तीले बिग्रने हो । उनीको लुगालाई हुकमा झुण्ड्याएर सुकाउँदा कपडाको तल्लो भागमा पानी जम्मा हुन्छ र ऊनी कपडा झुण्डिने, तन्कने वा आकारमा ठुलो हुने र लगाउँदा कुरूप देखिनेछ । ऊनीको लुगा धोएपछि, सकेसम्म प्रत्यक्ष घाममा सुकाउनु हुँदैन र सुकाउनै परे दुई घण्टाभन्दा बढी घाममा राख्नु हुँदैन । यसरी घाममा सुकाउँदा यसलाई उल्टो पार्नुपर्छ । उनीको लुगालाई चाँडै सुकाउनेतिर लाग्नुभन्दा पनि कम हिट वा छायाँमा बिस्तारै सुकाउने गर्नुपर्छ । मेसिनमा सुकाउँदा ड्रायरलाई ३ बिन्दु भन्दा बढी गर्नुहुँदैन । यदि छिटो सुकाउन खोजियो भने कपडा तन्किन्छ र खराब हुन थाल्छ ।













