जे गर्दा पनि किञ्चित अनमनस्कका कुराहरू भइहाल्छन्, यो व्यवहारको स्वभाव हो । केही नगर्दा पनि अज्ञानका प्रवाहले ल्याएका शब्दहरू घटनाहरू पूर्वकृत कर्मका फलका रूपमा अथवा माया, काल तथा अभिमानका संस्कारले विपरीतको स्पर्श वा क्षोभ आउँछ, आउँछ । व्यवहारको घटनामा स्थितिको रक्षण, ज्ञानद्वारा तथा साक्षीको अवस्थामा धैर्यद्वारा आफ्नो विवेकको रक्षण हुनुपर्छ । यस्तो भए हुन्थ्यो भन्ने कल्पना तथा यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो भन्ने चिन्ता आउनु असजग एवं अज्ञानी मनको स्वभाव हो ।
असजगताबाट मुक्त हुन, सन्तोष, वैराग, गुरुको ज्ञानका साथ एकान्त–शान्तको अभ्यासद्वारा स्मृतिलाई श्वासका साथमा राख्ने, जति दृढता एवं तत्परता आउँछ । उति मात्रामा सजगता बढ्दछ । अज्ञान भनेको अभिमान हो, अभिमान शरीर, धन मान एवं आफ्ना गुणहरूलाई लिएको हुन्छ । जब हामी सही अर्थमा सरल, नम्र हुन्छौँ । त्यो सरलता एवं नम्रता– जसमा अनित्यको आसक्ति छैन, मिथ्याको भरोसा छैन, त्यहाँ अकथनीय शान्ति एवं प्रकाश आउँछ, त्यही ज्ञान हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













