काठमाडौं – ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीसँगको झडपमा मृत्यु भएका दुई युवकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने समझदारी भएको हो ।
प्रदर्शनमा मृत्यु भएका अछामका वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहवर बसेका छन् ।
सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुुर्याउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ । रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा उनीहरूको मृत्यु भएको थियो । शाहको प्रहरीको गोली लागेर तथा राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो ।













