१. बन्धनमा नपर्ने कर्म गर्न सिक्नुहोस् । गीता ३.९ मा भनेको याद गर्नुहोस् भगवानको लागि गरेको कर्मले बन्धन ल्याउँदैन । संसारको लागि गरेको कर्मले बन्धन ल्याउँछ । त्यसकारण भगवानको खुसीको लागि कर्तव्य–पालन गर्नुहोस् ।
२. तपाईं साँच्चैको ध्यानको अधिकारी हुनुभया भने भगवान् आफैले तपाईंका आर्थिक समस्याहरु मिलाइदिनुहुन्छ ।
३. प्रभु साधक आफैले पुरुषार्थ गरोस् भन्ने चाहनुहुन्छ । प्रयास वा संघर्ष गर्नु भनेको निदिध्यासन हो । निदिध्यासन मनन् भन्दा असल छ ।
४. रहस्यको कुरा सुन्नुहोस्— संघर्ष गर्दा कहिल्यै पनि असफल हुँदैन, केही अंशमा सफल भएकै हुन्छ ।
५. प्रभुले हामीलाई संघर्ष गरेको मात्र हेर्न चाहनुहुन्छ । हजारौँ विघ्न बाधा होस्, प्रगति होस् वा नहोस्, पुरुषार्थ गरी नै रहनुहोस् ।
६. कुन बालकले पहिले स्कुल जान रुचाउँछ र ? अनेक बहाना बनाउँछ, झगडा गर्छ, रुन्छ, लड्छ । पछि पो थाहा पाउँछ कि स्कुलमा त मज्जा पो हुँदो रहेछ । अनि झगडा गर्न छोड्छ । स्वधर्मपालन पनि त्यसै गरी गर्ने हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













