सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख भएपनि प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्तिको विवरण आम नागरीकले थाहा पाउने गरी सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र आफ्नो सम्पत्तिको श्रोत खुलाउनु पर्ने भनिएपनि मन्त्रिहरुले सम्पत्तिको विवरण खुलाएका छैनन । लोकतन्त्रमा खुला सरकार, पारदर्शी शासन प्रणाली तथा जवाफदेहीका बारे कुरा उठाएपनि त्यसको व्यवहारमा लागु हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेको एक वर्ष पूरा हुन लाग्दा समेत अहिलेसम्म दाहालको सम्पति विवरण सार्वजनिक भएको छैन । प्रधानमन्त्री दाहाल सहित दुई उपप्रधानमन्त्री, २० मन्त्रीहरु र ३ राज्यमन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने उल्लेख छ ।
तोकिएको समयमा सम्पतिको विवरण नबुझाए त्यस्ता व्यक्तिले पाचँ हजारसम्म जरिवाना तिनुपर्ने कानुनी व्यवस्था छ । सतकर्ता केन्द्रले सम्पति विवरण बुझाउन सूचना पठाएपनि अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पति सार्वजनिक नगरेको केन्द्रले बताएको छ ।
लोकतन्त्रमा खुला सरकार, पारदर्शी शासन प्रणाली तथा जवाफदेहीका बारे कुरा उठाएपनि त्यसको व्यवहारमा लागु हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत पटक पटक सु्शासन, नैतिकताका बारेमा बोल्दै आएका छन् तर उनकै सम्पति कति छ भन्ने बारे आम नागरीकले थाहा पाउन सकेका छैनन् ।
सम्पत्ति विवरण सार्वजनिक हुदा उनीहरुले सार्वजनिक पद धारण गर्देगर्दा भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भने आम नागरीकले परीक्षण गर्न पाउँथे । तर, तीन पटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहालले आफू पदमा हुदा सम्पति विवरण गोप्य राख्दा यसले आम नागरिकमा आशंका बढाएको छ । विज्ञहरुका अनुसार सार्वजनिक निकायका पदाधिकारीले नैतिकता र पारदर्शिताका लागि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएतापनि अहिलेका प्रधानमन्त्री, मन्त्रीहरुले त्यसलाई बेवास्ता गरेको जानकारहरु बताउछन् ।
प्रधानमन्त्री दाहालले दोस्रोपटक आफू प्रधानमन्त्री हुँदा २०७३ भदौ ५ मा आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए । त्यतिबेला, दाहालले जम्मा ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । दाहाल अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीको पद धारण गरेको एक वर्ष पुग्न लाग्दा पनि प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पति विवरण खुलाउन नसक्दा उनीहरुमाथि आम नागरीकले शंका उब्जाउने ठाउँ पाएका छन् । यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले भने मन्त्रिहरुको सम्पति विवरण प्राप्त भएपनि मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक हुन नसकेको बताएको छ ।













