नेपाली कांग्रेसभित्र संस्थापन इतर समूह अहिले कमजोर बन्दै गएको छ । इतर समूहका दुई नेता शेखर कोइराला र गगन थापाबिचको आपसी विवादले इतर पक्ष कमजोर बनेको हो । पार्टी रुपान्तरण र नेतृत्व परिर्वतनका लागि एउटै उद्देश्य लिएर अघि बढेका दुई नेताबिच अहिले मत भिन्नता देखिन थालेको छ ।
पार्टीका वरिष्ठ नेता कोइराला सभापति शेरबहादुर देउवातिर निकट हुदै गएपछि गगन र शेखरको दुरी बढ्दै गएको हो । पार्टी सुदृणिकरण, रुपान्तरण र नेतृत्व परिर्वतनका लागि एउटै उद्देश्य बोकेर हिडेका दुई नेता अहिले आ–आफ्नै सुरमा छन् । अहिले नेता शेखर कोइराला महामन्त्री गगन थापासँग भन्दापनि सभापति शेरबहादुर देउवासँग निकट बन्दै गएका छन् ।
पार्टी सभापति देउवाले आगामी १५औं महाधिवेशनमा कोइरालालाई सभापतिको पद दिने साथै वरिष्ठ नेताको वरियता समेत दिने भनेपछि नेता कोइराला अहिले पार्टीको आलोचना गर्न छोडेका छन् । पार्टीका केही नेताहरु भने रुपान्तरणका क्रममा नेताहरुबिच नयाँ धुव्रिकरण बन्नु सामान्य रहेको बताउछन् । उमेर, विचार र कार्यका आधारमा नेता, कार्यकता र जनताले चाहे अनुसार नयाँ शक्तिहरुको एकता हुदै जाने इतर समूहका केही नेताहरुको भनाइ छ ।
अहिले पार्टीका कार्यक्रमहरुमा पनि सभापति देउवा र नेता कोइराला सँगै हिड्ने गरेका छन् । यसले गर्दा इतर समूहका गगन एक्लिएका छन् भने उनी अहिले युवाहरुको नयाँ समूह बनाउने तर्फ अग्रसर देखिन्छन् । आउदो पुष १६ गते कांग्रेसको महासमितिको बैठक बस्दैछ । महासमितिको बैठकमा दुई नेताहरु एक भएर नजाने र फरक धारणा प्रस्तुत गर्ने हो भने यो समूह थप कमजोर भन्दै जाने धेरैको आकंलन छ । पार्टीका कमि कमजोरीहरुलाई सुधार गर्दै एकीकृत भएर अघि बढ्नु पर्ने अर्काथरी नेताहरुको भनाइ छ ।
कोशी प्रदेशको सरकार गठनमा शेखर कोइरालाले एक्लै विद्रोह गरेर कोशीका आठ सांसद सहित एमालेको सहायतामा सरकार गठन गरेपछि कांग्रेसका अन्य नेतासहित दुई महामन्त्री विश्वप्रकाश शर्मा र थापा सन्तुष्ट छैनन् । इतर समूह कमजोर बन्दै जादा यसले संस्थापन पक्षलाई बल पुग्ने भन्दै दुई नेता मिलेर अघि बढ्नुको विकल्प नरहेको जानकारहरु बताउछन् ।













