काठमाडौं । गायक सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको आफ्नो नविनतम लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। उनले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोकदोहोरी गीत करिब तीन लाख युट्युब प्रयोगकर्ताले हेरिसकेका छन्।
उनलाई गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। हरि गिरी विमर्शीको शव्द रचना र संगीत तथा एचबिएन किस्मतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ। गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ। गम्भीर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको भिडियोको निर्देशन मौसम हिमाली र कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् भने छायांकन निर्देशन अर्जुन तिवारी तथा सम्पादन र भिएफएक्स मनोज कार्कीको छ।
एक दशकदेखि जापानमा बसेर रेष्टुराँ व्यवसायमा संलग्न रहँदै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडियोसहित जापान पुगेर सार्वजनिक गरेका हुन्। नवलपरासीको रजहरका सुशीललाई संगीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीतसंगीतकै आउने गर्छ रे। गाउँमै ९/१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन मञ्चमा चढ्छन्।
२०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम रैछौ चिटिक्कै बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीतले बजार पिटेपछि उनलाई यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको रहेछ। पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम दाइको साली ल्याएका थिए। त्यसयता तिम्रै बोली सुनेर रोईला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासि, लास्टै मन परेर, चुरिया छ्याई छ्याई, तिम्रै माया लाग्छजस्ता लोक र लोकदोहोरी गीत बजारमा ल्याइसकेका छन्।













