काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधानअनुसार सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा १५औँ महाधिवेशनका क्रममा इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका सुजल चापागाईं १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएकाले उनको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८३ माघ १८ गते निजको उमेर १८ वर्ष पूरा हुने नागरिकता विवरणअनुरूप तत्पश्चात् मात्रै निजले चाहँदा पार्टी सदस्यता कायम हुने स्पष्ट गरिन्छ ।’
कांग्रेसले अन्य जिल्लाका वडा तहमा भएका निर्वाचनमा पनि यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा त्यस्तो निर्वाचनको परिणाम कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।














