काठमाडौैं । शिक्षक आन्दोलनले शुक्रबार पनि सामुदायिक स्कुलमा पठनपाठन ठप्प भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध सडक संघर्षमा उत्रिएका शिक्षकका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प बनेको हो ।
शिक्षक हडतालका कारण ७० लाख विद्यार्थीको भविष्य संकटमा परेको छ ।
मुलुकभरका शिक्षक बुधबारदेखि राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका थिए । जसकारण पछिल्ला दुई दिन काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलन माइतीघर मण्डला र नयाँ बानेश्वरमा केन्द्रित छ । जसकारण कोटेश्वर, गौशाला, रत्नपार्क, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली क्षेत्रको यातायात आवागमन प्रभावित बन्न पुगेको छ । आन्दोलनका कारण बिहीबार भक्तपुरबाट रत्नपार्क आउने यात्रु कोटेश्वरमै रोकिएका थिए ।
ललितपुरबाट चाबहिल जान चाहने यात्रु थापाथलीमै झर्नुपरेको छ भने बलाजु, नयाँ बजार, नयाँ बसपार्कबाट भक्तपुर जान चाहने यात्रु बीचबाटोमै अलपत्र बन्नुपरेको छ ।
शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर, अनामनगर, शंखमूल, बिजुलीबजार, बुद्धनगर, शान्तिनगर, तिनकुनेलगायतका क्षेत्रका भित्री सडक बुधबार र बिहीबार दिनभरजसो अवरुद्ध बन्न पुग्यो । भित्री सडकमा यात्रुवाहक बसको जाम थियो । मोटरसाइकल तथा निजी यातायातका साधन सडकमा दिनभर जाममा परे । धोबीखेला, बागमती नदी करिडोर पनि अवरुद्ध थियो ।
सडक अवरोधका कारण बिरामी बोक्ने एम्बुलेन्स पनि चल्न सकेनन् । विशेष गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र एभरेस्ट अस्पताल यसको मारमा परे । एम्बुलेन्स नचल्दा बिरामीलाई अस्पतालले अर्को अस्पतालमा रिफरसमेत गर्न सकेनन् । शिक्षक हडतालका कारण राजनीतिक गतिविधि पनि ठप्प बनेको छ ।













