मनाङ – मनाङका केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल काजिनसरा भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो ।
तालको प्रवद्र्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मनाङ, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो । गुगलको ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जिपिएसका अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा सिङ्गर काजिनसारा ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेसक्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
यहाँको प्रवद्र्धनका लागि गाउँपालिकाले ठाउँठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेको छ । यसले पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सहयोग पु¥याउनेछ । तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय एक्याप मनाङले ठाउँठाउँमा बाटो चिनाउने साइनबोर्ड राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए ।
उनका अनुसार यस तालको प्रवद्र्धनका लागि बर्सेनि तालमै पुगेर कार्य गर्दै आएको छ । उनले भने, “तालको मापदण्ड निर्धारण गर्नका लागि सरकारसमक्ष प्रस्तावना पेस गरिएको छ, यस्ता पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहज रुपमा छिटो प्राविधिक तथा सामग्री उपलब्ध गराई प्रवद्र्धन गर्नतर्फ ध्यान दिनुपर्छ ।”













