– गङ्गा कर्माचार्य पौडेल
“म तिम्रो बाआमाको स्याहार गरेर बस्न सक्दिन है भन्द्याछ ।” विवेककी पत्नीले कड्किदै भनी ।
“विवेकले पत्नीलाई सम्झाउँदै भने — “हेर प्रिया ! बाआमा भनेका बोल्ने देउता हुन् । फेरि उहाँको हामीबाहेक यो संसारमा को छ र ?
हाम्रो पनि बा मात्रै त हुनुहुन्छ नि ! आमा बितिसक्नुभयो । तिमीले जहिले पनि स्वर्गमा भएकी मेरी आमलाई पनि खुबै स्याहार गर्न परे झैं कर कर गरिरन्छ्यौ ।
“आमा मरेर के भयो त ? बा जिउँदै छन् क्यारे” । पत्नीको दुर्वचन सुनेर विकेकको रिसको पारो चढ्यो । मुखै बाङ्गिने गरी हान्दिन्छु ऐले भनरे हात उठाए ।
“पर्ख ! कुटपिट गर्नु समस्याको समाधान होइन” विवेकभित्रको विवेकले भन्यो । त्यसपछि उनी हच्किए ।
तीजको बेला थियो । विवेकले बहिनीलाई माइतीमा लिएर आए । नन्द आएको देख्नासाथ प्रियाले “म माइत हिँडेँ” भनेर झेला बोकी टिमटिम पदै निस्की ।
विवेकले मनमनै भने “बहिनीले खाएको रिस गरेर रडाको मच्चाउँथी गई ठिक्क भयो ।”
पत्नी गएपछि बा र बहिनीलाई दर ख्वााएर विवेक हाँसीखुसी रमाएर बसेका थिए । पञ्चमीसम्म आनन्दै हुनेभयो भनेर ढुक्क पनि थिए उनी तर यस्पाली त प्रिया तीजकै दिन साँझपख रुँदै घर आइपुगी । उसलाई देखेर सबैजना छक्क परेर मुखामुख गरे ।
विवेकले के भयो ? भनेर सोध्न लागेका मात्रै थिए । प्रिया आफैले भनि— “बुहारी नछुनी भएर माइत गएकी रैन छ । म पुग्नासाथ खान आकी भनेर झगडा गरी । तिम्रो बाउलाई पाल्न सक्दिन आफ्नैे घर लगेर पाल समेत भनी । बा मसँग साह्रै रुनुभयो । भाइ एकशव्द बोलेन । बालाई उनीहरूले गरेको दुव्र्यवहार देखेर मेरो मुटु फुट्लाझैं भयो अनि आजै फर्केर आएँ हुँहुहुँहुँ ।”
साभारः लघुकथा कुनोबाट













