परमको तरङ्गका कारण, कारणको बीजत्व सूक्ष्म, सूक्ष्मबाट वृक्षत्व यही हो क्रम । परम कारण सूक्ष्म स्थूल प्रत्येक, प्राज्ञ, तैजस–विराट् तुरीय, सुषुप्त, स्वप्न, जाग्रत् ।
परिवर्तन र क्षणिकताको स्वभाव जानेपछि सन्तोष, बुझाइ र वैराग्य स्वतः जानिन्छ । त्यस अवस्थामा परिवर्तनमा असक्ति र मिथ्याको विश्वास समाप्त हुन्छ । त्यहाँ स्वतन्त्रता छ, यही हो जीवन मुक्ति ।
सन्तका लागि कृपण मनुष्यको सम्पर्क सबै प्रकारले अशान्तमय हुन्छ । ‘कञ्जुस व्यक्ति’ स्वार्थी, इष्र्यालु र धेरै कुरा बटार्ने हुन्छ । कञ्जुस एवं ढाँट्ने बानी भएका व्यक्ति मानसिक रोगी हुन् ? चोरवृत्ति भएकासित सामान लुकाएझैँ यस्तासित मनोभाव लुकाउनुपर्छ ।
जीवनमा केही स्वार्थ नभए कोही पनि राम्रो नराम्रो संसारी वैरागी जस्तै होस्, कहाँ फरक पर्छ । अनुकूलता र लाभको अपेक्षाले इमानदार, भूmटो आदि भेद ल्याउँछ ।
समग्र वागडोर अस्तित्वलाई दिएर सम्बन्ध र सङ्ग्रह दुवैको भार, बन्धन, चिन्ता अरू अस्थिरता सम्झन सके सामान्य मानवीय कमजोरीले उत्पन्न आरोहावरोहका समस्या दृष्टिगत हुँदैनन् । स्थान, व्यक्ति, सुविधा–त्रिविधाको स्थायित्व र यी तीनको सुरक्षाको कामना सबै व्यर्थता, संसारीपनाको बीज हो । बीज समाप्त भयो । तिमी सदाकाल जीवन्मुक्त छौ ।
सङ्ग्रहमा बन्धन छ, भय छ, स्मृतिको प्रतिबद्धता छ ।
सम्बन्धमा अस्थायित्व छ, परिवर्तन छ, अन्तमा वियोग वा मृत्यु छ ।
जसले मृत्यु र भयबाट मुक्त हुन चाहन्छ— उसले सङ्ग्रह र आसक्तिको सबै तŒव सम्झनुपर्छ ।
अहङ्कार छोड तिमी स्वतन्त्र छौ, जो छ त्यसको उपभोग गर, नफँस, भोग नगर ।
उपभोग भनेको आसक्ति रहित संलग्नता हो ।
भोग भनेको आपूm स्वयं नै होमिनु हो ।
आगो ताप नडढ, यसको सार यही हो ।
जहाँ मेरो र मेराको सम्बन्ध छ त्यहाँ सुनेर, देखेर विक्षेप आउँछ ।
प्रथम सुन्ने, देख्ने आग्रह वृत्ति समाप्त गर अनि मेराको भन्ने वृत्तिलाई ममा समेट ।
यो म कसरी जन्मिन्छ त्यो युग्म प्रक्रिया हेर ।
प्राणको श्वास प्रश्वासका मध्यमा त्यो लुकेको छ ।
श्वासका साथमा स्मृतिलाई भित्र लिएर जाऊ ।
श्वासका साथमा स्मृतिलाई बाहिर लिएर आऊ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













