काठमाडौँ ।चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको बुच्चे नक्सा राखेर जारी गरेको छ ।
नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि नेपालको पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बि।सं। २०७७ साल जेठ ७ मा नेपालले आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । नेपालको नयाँ नक्सालाई हालसम्म भारतले स्वीकार गरेको छैन ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले उक्त नक्सा सन् २०२३ को संस्करण भन्दै उल्लेख गर्नुका साथै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको बताएको छ ।
चीनले आफ्नो नयाँ नक्सा जारि गर्दा छिमेकी मुलुक नेपालको नक्सालाई समेटे पनि नेपालको नयाँ चुच्चे नक्सालाई स्थान दिइएको देखिएन ।
चीनले निकालेको नयाँ नक्सामा नेपालको बुच्चे नक्सा राख्दा समेत वर्तमान गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड मौन बसेका छन् ।













