अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा धाँधली गरेको आरोपमा आत्मसमर्पण गरेका छन्।
जर्जियाको फुल्टोन काउन्टी जेलमा बिहीबार आत्मसमर्पण गरेर उनी बीस लाख अमेरिकी डलर धरौटीमा रिहा भएका हुन्।
ट्रम्पविरुद्ध जर्जियामा चुनावी नतिजा उल्ट्याउन जालसाजी गरेको, राज्यलाई धोका दिने षड्यन्त्र रचेको र साक्षीलाई प्रभावित पारेको आरोप लगाइएको थियो।
ट्रम्प करिब २० मिनेट फुल्टोन काउन्टी जेलमा बसे। र, २० लाख डलर धरौटी तिर्ने शर्तमा उनी रिहा भए। जेलबाट निस्किँदै गर्दा ट्रम्पले पत्रकारहरूसँग भने, ुमैले केही गलत गरेको छैन।ु
जर्जियाको फुल्टन काउन्टीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जेलबाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो। जेलमा लगिसकेपछि उनलाई एउटा कोठामा राखियो। औंठाको छाप लिइयो। अनुहारको तस्बिर पनि खिचियो। अनि, उनलाई कैदी नम्बर पी ०११३५८०९ को रूपमा दर्ता गरिएको थियो।
पूर्वराष्ट्रपति ट्रम्पबाहेक अन्य १८ जनालाई मुद्दामा अभियुक्त बनाइएको छ। उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मेडोजले पनि ट्रम्पसँगै आत्मसमर्पण गरेका छन्।













