धेरै मानिसहरू आफ्नो हातमा पैसा नै टिक्दैन भनेर भनिरहेका हुन्छन् । पैसा बचत गर्ने कला सबैसँग नहुन सक्छ । यदि हातमा पैसा अडिएन भने भविष्यका लागि कुनै प्लान गर्न सकिँदैन । त्यसैले यदि पैसा पाएपछि खर्च गरिहाल्ने खराब बानी छ भने त्यसलाई केही तरिकाहरू प्रयोग गरेर हटाउन सकिन्छ —
– सानोदेखि लिएर ठूलोसम्मको खर्चको लक्ष्य बनाउनुपर्छ । त्यो लक्ष्य पूरा गर्न प्रयास गरियो भने बारम्बार हुने खर्चमा नियन्त्रण हुन सक्छ र यसले आम्दानी र खर्चबीच एउटा सन्तुलन पैदा गर्छ । कुनै खर्च गर्नुभन्दा अगाडि आफूले राखेका लक्ष्यहरूलाई सम्झिने प्रयास गर्नुपर्छ । लक्ष्य अगाडि भएपछि वचत गर्न सजिलो हुन्छ ।
– खर्चका लागि क्रेडिट कार्डमा निर्भर हुने खराब बानी हो । खर्च गर्न क्रेडिट कार्डमाथि निर्भर रहनु भनेको वचत हुन कठिनाइ हुनु हो । क्रेडिट कार्ड प्रयोग गर्दा पनि बैंक एकाण्टमा जति पैसा छ त्यति मात्रै खर्च गर्नुपर्छ ।
– कहींबाट ऋण लिएको छ भने त्यसलाई छिटै तिर्ने कोशिस गर्नुपर्छ । ऋणलाई सकेसम्म राख्नुहुँदैन ।
– वचतसँगै वित्तीय सुरक्षाको पनि ध्यान राख्न जरुरी छ । सबैभन्दा पहिला आपतकालीन कोष बनाउनुपर्छ । यसो गरियो भने कुनै अप्ठेरो परिस्थितिमा त्यो पैसा प्रयोग गर्न सकिन्छ । इमर्जेन्सी फण्ड भएपछि ऋण लिन आवश्यक नपर्न सक्छ ।













