१. नम्रताले अपयशलाई नष्ट गर्दछ । पराक्रमले अनर्थलाई नष्ट गर्दछ । क्षमाले क्रोधलाई दूर गर्दछ र सदाचारले दुव्र्यसनलाई नष्ट गरिदिन्छ ।
२. बाली काटेको खेतमा छरिएका बाला उठाउने शिलाहारीले जसरी यता उता खसेका अन्नबाला बटुल्दछ, त्यसरी नै धीर पुरुषले नीति वचन, असल उक्ति, असल कामलाई जहाँकहीँबाट पनि सङ्कलन गर्दछ ।
३. गाईले गन्धबाट आफ्नो खाद्य चिन्दछ, वेदपाठी ब्राह्मण वेदबाट ज्ञान प्राप्त गर्छन्, राजा गुप्तचरबाट ज्ञान लिन्छन्, सर्वसाधारण त केवल देखेर मात्र जान्दछन् ।
४. वृद्धावस्थाले रुप नष्ट गर्छ, आशाले धैर्य नाश गर्छ, मृत्यु जीवनलाई नाश गर्छ । निद्रा र दोषारोपणले धर्माचरण नष्ट गर्दछ । कामले लज्जा नाश गर्छ । अनार्य सेवा दुष्टको सङ्गतले सदाचार नष्ट गर्छ । क्रोधले सम्पत्ति नाश गर्छ र अभिमानले सबै गुणलाई नाश पार्दछ ।
५. जो व्यक्ति सुख–दुःखको वेग रोक्न सक्षम छ तथा सङ्कटको बेलामा धैर्य धारण गर्दछ, उही धन–सम्पत्ति प्राप्त गर्ने अधिकारी हो ।
६. हे राजन् ! अति अभिमानी, धेरै बोल्ने, त्यागको अभाव, क्रोध, आत्मपोषणको इच्छा र मित्र द्रोही यी छ कारण हुन् जसले गर्दा व्यक्ति पूर्ण आयु बाँच्न सक्दैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













