काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको झन्डै सय किलो सुन तस्करी गर्दागर्दै बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ ।
‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘जाँचपासमा संलग्न सबै निलम्बन हुन्छन् ।’
भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको छ ।
बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । सो सुन व्यवसायी दीपक मल्होत्राको हुन सक्ने अनुमान गरिएको छ ।
विमानस्थलका विभिन्न संरचना निर्माणमा मल्होत्राले नै ठेक्का लिएर काम गर्दै आएका छन् । सोही कारण सजिलै भन्सारबाट सुन पास भएको स्रोतले बतायो ।













