प्रायः माकुराले कीरा फट्याङ्ग्रालाई पक्रन जाल बुन्ने गर्छन् । यसको जालमा परेपछि किराहरु हत्तपत्त उम्कन सक्दैनन् र माकुराको आहारा बन्छन् । माकुरोको जाललाई छुने बित्तिकै त्यसमा कीरा फट्याङ्ग्राह टाँसिन पुग्छन् तर आफै चाहिँ त्यो जालमा टासिँदैन तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफै पनि फस्क सक्छ ।
माकुरोलाई जालोको कुन धागोमा हिँड्दा टासिँदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने कुराको राम्रो हेक्का हुन्छ । माकुराले विभिन्न किसिमका जालो बुन्ने धागाहरु उत्पादन गर्न सक्छ । त्यसमध्ये यसले शिकार पक्रनका लागि टाँसिने खालको धागो उत्पादन गरी प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ । यही नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो पनि निर्माण गरेको हुन्छ । माकुराको स्पर्श क्षमता यति शक्तिशाली हुन्छ यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













