पोखरा । राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख सुरेश आचार्यले सुशासन लोकतन्त्रको सुन्दर पक्ष भएकै कारण स्तानीय तहका जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्धारा आज (शुक्रबार) पोखरामा आयोजित सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा बोल्दै आचार्यले सुशासनलाई सुनिश्चित गर्नुपर्ने आधारहरुमा जनप्रतिनिधी स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको हो ।
‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार भएकाले वढी जिम्मेवार भएर जनताको पक्षमा काम गर्न जरुरी देखिन्छ, आचार्यले भन्नुभयो– स्थानीय सरकार संचालन ऐन २०७४ जारीसँगै स्थानीय तहले हरेक कामको पारदर्शीता गनुपर्छ ।
स्थानीय तहमा उजुरीको संख्या प्रतिवर्ष वढ्दै गएको बताउँदै उहाँले ढिलासुस्ती र अनियमितता रोक्दै पारदर्शी रुपमा काम गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीहरु पनि समाजको जनप्रतिनिधी भएकाले स्थानीय तहमा हुने अनियमितताका बारेमा कलम चलाउन आग्रह गर्नुभयो । ‘पत्रकारले सुशासन र जनताको पक्षमा कलम चलाउने हो बस्नेतले भन्नुभयो– समाजको ऐना भनेकै पत्रकारिता हो, पत्रकारले पनि गल्ती गर्न थालेभने जनताको पत्रकार प्रति हेर्ने दृष्टिकोण फरक हुनसक्छ ।’
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखराका सचिव मनमाया पंगेनीले सेवाग्रही देउता भएको बताउनुभयो । सर्वसाधारण जनता ठोकिने भनेको स्थानीय तहमा नै भएकाले उनीहरुलाई सुशासन दिने दायित्व जनप्रतिनिधि र कर्मचारीको भएकाले जिम्मेवार भएर सेवा प्रादान गर्नुपर्नेमा उहाँको जोड थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय सरकारप्रति आम नागरिकले सकरात्मक रुपमा हेर्न सक्ने वातावरण बनायौ भने लोकतन्त्र बलियो हुने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले विकेन्द्रिकृत राज्य संरचनासँगै भ्रष्टाचार पनि बिकेन्द्रिीकृत रुपमा फैलिएकाले यसलाई नियन्त्रण गर्न जरुरी भएको बताउनुभयो । पोखरा महानगरपालिकामा मात्र दुइ अर्ब रुपैयाँ बेरुजु रहेको र त्यसलाई घटाउन आफू प्रयासरत रहेको भनाई उहाँको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वद्रीकुमार कार्कीले आफ्नो कार्यालयमा वढी मात्रामा स्थानीय तहमा हुने विकास निर्माण कार्यमा भएका अनियमितताका उजुरी वढी आएको जानकारी दिनुभयो । साथै उहाँले अख्तियारमा परेका विभिध उजुरी र कामकारवाहीको बारेमा प्रकाश पार्नुभएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन विष्टले स्थानीय प्रशासन र सेवा प्रवाहमा स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीको भूमिका विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो । उत्तः कार्यक्रम तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाँइको अध्यक्षतामा सम्पन्न भएको थियो ।













