१. निर्विकल्प समाधिमा साधक ब्रह्म भगवान् हुनुहुन्छ । अर्थात् ऊ ब्रह्मलीन हुन्छ, फलस्वरुप प्रकृतिबाट छुट्टिन्छ । अर्काे कुरा ब्रह्म भएर पनि ब्रह्क के हो भन्ने उसलाई थाहा हुँदैन । किनभने जान्नु र हुनु रात र दिन जस्तै हुन् ।
२. एक पटक साधु शान्तिनाथका चेला जो पछि ब्रह्मयोगी भएर नाम कमाउनुभयो म कहाँ बहस गर्न आउनुभयो । उहाँको भनाइ थियो— रातमा पनि प्रकाश हुन्छ, त्यसैले फरक पर्दैन । मैले भनेँ— फरक हुन्छ, किनभने दिन झलमल्ल हुन्छ, सबै वस्तुहरु प्रष्ट देखिन्छन् । रात चम्किलो भए पनि वस्तुहरु देखिँदैनन् ।
३. श्रुतिहरुले यहाँसम्म मात्र कुरा गर्न सक्छन् तर यसको पारी कुरा गर्न सक्दैनन् । यो ब्रह्ममा मात्र लागिपरेमा यसको आनन्दमा लीन हुन्छन्, फर्केर आउन सक्दैनन् किनभने, समस्त ऐन्द्रिक अनुभवहरु छिन्नभिन्न भइसकेका हुन्छन् ।
४. तीन दिदीबहिनीहरु छन्— लक्ष्मी, अभिमान र कुलक्षिणी । अभिमान र कुलक्षिणी लक्ष्मीसँग बस्न चाहन्छन् तर लक्ष्मी एक्लै बस्न मनपराउँछिन् । उनी अभिमान र कुलक्षिणीलाई देख्नेबित्तिकै गायब हुन्छिन् ।
५. रामायण ः नैतिकताको सगरमाथा, महाभारत ः बुद्धिको सगरमाथा, भागवत्: अध्यात्मको सगरमाथा । यी तीनवटै पुस्तकको अध्ययन गरेपछि मात्र मकहाँ आउन पाउनुहुन्छ ।
६. दिनको एकपटक खानाले योगी, दुईपटक खानाले भोगी, तीनपटक खानाले रोगी हुन्छौँ । ऐनाको घर तपाईंको शरीर भन्दा बलियो छ । रोगहरु भगवान्का सिपाही हुन् । खराब काम गर्नुभएको छ भने तिनीहरु तपाईंलाई सजाय दिन आउँछन् । शरीरलाई धेरै महत्व दिनु हुँदैन, अनावश्यक सास्ती पनि गर्नुहुँदैन । शरीरलाई ठीकसँग प्रयोग गर्नुहोस्, स्वस्थ राख्नुहोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













